राजनीतिमा होमिए रवि लामिछाने, काठमाडौंबाट चुनाव लड्ने

सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा आउने भएका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो क्लिपमार्फत लामिछानेले आजदेखिनै आफू पूर्णकालीन राजनीतिमा आउन लागेको बताएका हुन् । संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा आएका लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन्।

लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट सञ्चालन गर्दै आएको कार्यक्रम ‘सिधा कुरा’ नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पनि बताएका छन् । राजनीतिमा आउने भएसँगै उनले टेलिभिजन पनी छाडेका हुन् । उनले आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने बताएका छन् ।



‘म राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु । मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला’, लामिछानेले भने । त्यस्तै उनले आजबाट सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम दिएको बताएका छन् । ‘म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु । यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन । यो समाजलाई मेरोतर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो । मैले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा म नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहान्छु र आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु’ लामिछानेले बताएका छन् ।

सम्बन्धित समाचार