नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको नेपालले भुटानलाई पराजित गरेको छ । आज (शुक्रबार) भएको खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको छ ।
मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले २६ रन जोडिन् भने इन्दु बर्माले २० रन बनाइन् । त्यस्तै रुबिना क्षेत्रीले २१ रन रन बनाई आउट भइन् भने डोली भट्टले ५ रन जोडिन् । भुटानको लागि सोनम पाल्डोनले ४ विकेट लिइन् भने अन्जु गुरुङ र टासी छेकीको भागमा समान १-१ विकेट रह्यो ।
९५ रनको लक्ष्य लिएर मैदान उत्रेको भुटान १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रनमा समेटियो । भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोड्नु बहेल अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालको लागि संगीता राईले ४ विकेट लिईन् भने कविता कुँवरले २ विकेट लिँदा अश्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ जसमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् भने समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
समूहका दुई शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । आज भुटानविरुद्ध पहिलो खेल खेलेको नेपालले दोस्रो खेल कुवेतविरुद्ध शनिबार, सोमबार बहराइनसँग र तेस्रो तथा अन्तिम खेल आगामी मंगलबार हङकङसँग खेल्नेछ।