नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असार ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पाट्नर सीप पोग्राम (एसपीपी) सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले एसपीपीको छलफलमा च्याप्टर क्लोज भइसकेकाले अब बहस आवश्यक नभएको बताएका छन् । नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ । खड्काले भने ‘नेपालको हितमा एसपीपी छैन। यो अगाडि बढ्दैन। हामी सामरिक गठबन्धनमा जाँदैनौं । नेपाली सेनाको विज्ञप्ति आइसकेको छ । यसको च्यापटर नै क्लोज भइसक्यो । यसको खोतलखातल नगरौं । एउटै विषय पटक पटक नकोट्याउँ।’
उनले नेपालको भौगोलिक अवस्थिति र छिमेकी मुलुकको संवेदनशीलतालाई समेत ध्यानमा राख्दै नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन नसक्ने बताए । मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकामा हुने भनिएको भ्रमणका सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासालाई स्पष्ट पार्दै प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारे ।
उनले भने, ‘मुलुकको कार्यकारी प्रमुख विदेश भ्रमणमा जानु स्वभाविक विषय हो, कुनै विषयलाई लिएर आशङ्का गर्दा तथा स्थगित हुनुपर्छ भन्दा हामीमा आत्मविश्वासको कमी रहेको र अन्तर्राष्ट्रिय जगतमा पनि नराम्रो सन्देश जान सक्छ ।’
त्यस्तै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको बताएका छन् । शुक्रबार एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि दिए । नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा अमेरिकालाई एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै शर्माले सैन्य गठबन्धनका लागि पत्र नलेखिएको बताए । ‘एसपीपी हाम्रो लागि मान्य छैन, मानवीय सहयोगका लागि भनेर आएकोले पत्राचार भएको हो ।’ उनले भने, ‘सैन्य गठबन्धनका लागि लेखिएको होइन । नेपाल सैन्य गठबन्धन जाँदैन भनेर अमेरिकालाई भनिसकिएको छ ।’
उनले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए । नेपाली सेनाले जनतामाथि खेलवाड नगर्ने भन्दै शर्माले एसपीपीसम्बन्धी बाहिर आएको कागजात पनि सरकारी नभएको दाबी गरे । यस्तै उनले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको बताएका छन् । प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गते अमेरिका जाँदै छन् ।
यस्तै नेकपा एमालेका नेता डा भीम रावलले एसपीपीका सम्बन्धमा सरकारले स्पष्ट पार्नुपर्ने बताउँदै यसमा नेपाल आबद्ध नहुने भनी नेपाल सरकारले अमेरिकालाई पत्र लेख्नुपर्ने बताए । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य तथा पूर्वरक्षामन्त्री समेत रहेका रावलले यस सम्बन्धमा आवश्यक अध्ययन र छानविन गर्न समिति गठन गर्नुपर्ने मागसमेत गरे । उनले परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी सम्झौताको विषयमा गरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।
खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति दिएको रावलले बताए । ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु’ रावलले भने ।
बैठकमा खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भएको भन्दै अब बहस आवश्यक नभएको र नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको बताएका थिए ।
यसैगरी पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले एसपीपीका सम्बन्धमा सरकारका तर्फबाट धेरै स्पष्ट जानकारी आइसकेको र प्रधानमन्त्री देउवालेसमेत आफूसँगको भेटमा राष्ट्रियहितविपरीतका कुनै पनि सम्झौता नहुने बताउनुभएको जानकारी दिए । उनले कसैले पनि कसैको दबाब र प्रलोभनमा परी राष्ट्रियहितविपरीतका कार्य गर्न नहुनेमा जोड दिँदै आफू र आफ्नो पार्टी राष्ट्रियताका सवालमा दृढ भएर उभिने उभिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी पूर्वउपप्रधानमन्त्री एवं समिति सदस्य सुजाता कोइरालाले एसपीपीका बारेमा सरकारले स्पष्ट पारिसकेकाले अब सार्वजनिक हल्ला र भ्रमका पछि लागेर यसबारेमा थप छलफल आवश्यक नभएको धारणा व्यक्त गरे। साथै उनले नेपालमा भारत र अमेरिकाको नाम सुन्नेबित्तिकै एकथरीले अनावश्यक हल्ला र भ्रम फैलाउने गरेकोसमेत बताए ।
यता पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एसपीपीका बारेमा नेपालका तर्फबाट लेखिएका पत्रकाबारेमा स्पष्ट जानकारी माग गर्दै छिमेकी मुलुकका सम्बन्धमा सन्तुलित नीति अवलम्बन गर्नुपर्ने बताए। पूर्वउपप्रधानमन्त्री एवं समिति सदस्य प्रकाशमान सिंहले सरकारले एसपीपीका बारेमा प्रधानमन्त्रीका तर्फबाट सदनमा स्पष्ट पारिसकेका विषयमा थप आशङ्का गर्नु आवश्यक नभएको बताए ।
त्यस्तै पूर्वउपप्रधानमन्त्री एवं समिति सदस्य ईश्वर पोखरेलले एसपीपीका बारेमा आफू रक्षामन्त्री हुँदाका घटनाका बारेमा स्मरण गराउँदै यस सम्बन्धमा भित्री सबै विषयमा स्पष्ट पारी अघि बढ्नुपर्ने बताए ।
बैठकमा समिति सभापति पवित्रा निरौला (खरेल) एसपीपीका सम्बन्धमा सार्वजनिक भएका विषयमा सरकारको औपचारिक धारणा माग गर्ने, एसपिपी ‘इण्डो प्यासिफिक रणनीति’ को हिस्सा बन्ने अमेरिकाको प्रतिवेदनपछि अब उप्रान्त यसमा नेपाल सरकार सहभागी नहुने अमेरिकालाई अवगत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने, प्रधानमन्त्रीको अमेरिका हुने भनिएको भ्रमणका क्रममा उपयुक्त विषयलाई ध्यानमा राख्न र कुनै पनि विवादास्पद सहमति वा कार्य नगर्न निर्देशन दिने निर्णय सुनाए ।
साथै उनले एसपीपीका सम्बन्धमा नेपालको रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट अमेरिकासँग गरेका पत्रचार वा सहमति सात दिनभित्र समिति उपलब्ध गराउन पत्राचार गर्ने र तत्कालीन परराष्ट्र सचिवको नेतृत्वमा रक्षा र गृहसचिव प्रधानसेनापति सम्मिलित कार्यदलको निष्कर्षलाई समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिए ।