नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । आज (शुक्रबार)नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका छन् । जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरुमा सुशासन कायम गरी जनभावनाअनुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे ।
कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।