नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असार ।
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपाल र कुवेत भिड्दै छन् । आज (शनिबार) मलेसियाको किनरारा मैदानमा हुने खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ ।
नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनाको साथ मैदान उत्रदैछ भने कुवेत पनि नेपाललाई पराजित गर्दै स्पष्ट २ अंक प्राप्त गर्ने सुरमा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको थियो भने कुवेत र बहराइनबीचको पहिलो खेल भने वर्षाले गर्दा रद्ध भएपछि दुवै टोलीले समान १-१ अंक बाँडेका थिए ।
पछिल्लो नतिजा हेर्ने हो भने यसअघि नेपाल र कुवेतविरुद्धको २ खेल नेपालले शतप्रतिशत नतिजा निकाल्दै दुबै खेलमा विजयी भएको थियो । नेपाल १ खेलमा २ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ भने समान खेलमा १ अंक जोडेको कुवेत तेस्रो स्थानमा रहेको छ । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ जसमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् भने समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
समूहका दुई शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । अब नेपालले सोमबार बहराइनसँग र तेस्रो तथा अन्तिम खेल आगामी मंगलबार हङकङसँग खेल्नेछ।