नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असार ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । रसुवा, गोसाईकुण्ड गाउँपालिका-१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ सोही ठाउँस्थित उत्तिसघारी जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् । विगत ५/७ दिनदेखि घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
त्यस्तै रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका-१४ त्रिबेणीस्थित खोला किनारमा सोही गाउँपालिका-१२ घर भएका ५५ वर्षीय जय बहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।यता तेह्रथुम, आठराई गाउँपालिका-१ डाँडागाउँ जाने बाटोको जंगलमा सोही ठाउँ बस्ने ३१ वर्षीया तारा भुलेल शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ६/७ दिनदेखि हराई बेपत्ता भएकी ताराको उक्त जंगलमा शव फेला परेको हो ।
यस्तै नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-२ फेनहरा बस्ने ६७ वर्षीय राधे चमार प्रतापपुर गाउँपालिका-७ सूर्यापुरास्थित गण्डक नहर सूर्यापुरा पावर हाउसको जालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सर्लाही, हरिवन नगरपालिका-१० ताईवान टोलस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका सोही ठाउँमा मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

