नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असार ।
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज (शनिबार) भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको हो ।
मलेसियाको किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।नेपालको लागि रुबिना क्षेत्री र इन्दु बर्माले अविजित रहँदै क्रमश: ३४ र २८ रन बनाए । त्यस्तै ज्योति पाण्डे १५ रन बनाई आउट भइन् भने विन्दू रावलले ११ रन जोड्दा सिता रानामगर र काजल श्रेष्ठले समान ५-५ रन जोडे । कुवेतको लागि मरिमा हैदरले २ विकेट लिइन् भने मार्यम ओमार र खादिजा खालिलको भागमा समान १-१ विकेट रह्यो ।
१०८ रनको लक्ष्य लिएर मैदान उत्रेको कुवेत निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रनमात्र बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् भने मारिमा हेदरले १५ रन बनाउँदा कप्तान आम्ना तारिकले १४ रन बनाईन् । नेपालको लागि सीता राना मगरले २ विक्व्त लिइन् भने अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माको भागमा समान १-१ विकेट रह्यो ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको थियो भने कुवेत र बहराइनबीचको पहिलो खेल भने वर्षाले गर्दा रद्ध भएपछि दुवै टोलीले समान १-१ अंक बाँडेका थिए । नेपाल २ खेलमा ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ भने समान खेलमा १ अंक जोडेको कुवेत चौथों स्थानमा रहेको छ । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ जसमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् भने समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
समूहका दुई शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । अब नेपालले सोमबार बहराइनसँग र तेस्रो तथा अन्तिम खेल आगामी मंगलबार हङकङसँग खेल्नेछ।