भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन

भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ । दमक–५ मा बस्दै आएका ७२ वर्षीय राईकोे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो ।

डा राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक थिए । राई पेटसम्बन्धी समस्याबाट लामो समयदेखि पीडित थिए। शनिबार दिउँसो मुटुको चालमा समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको आफन्त ईन्द्र कुँवरले बताए।



डा राईको शव आजै कमल–५ सीतापुरी उत्तरमा रहेको समाधिस्थलमा अन्त्येष्टि गरिने उनले बताए । राई भुटानी राजाका कन्सलेन्टेन्ट सर्जनको रुपमा काम गर्थे । सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए। राईकी श्रीमती र बुबा–आमासहित नेपाल आएका थिए । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो ।

दुई वर्षअघि उनकी श्रीमती उर्मिलाको पनि निधन भएपछि डा राई डेरामा एक्लै बस्दै आएका थिए। गत जेठदेखि उनलाई नगरपालिकाले सम्मानस्वरुप दमकमा आजीवन बस्नेको व्यवस्था गरिदिएको थियो । सन् १९९० अघि एक लाख बढी भुटानीसगैँ शरणर्थी शिविर प्रवेश गरेका डा राईले शरणार्थीको निःशुल्क उपचार गर्दै आएका थिए ।

सम्बन्धित समाचार