गठबन्धनमा एसपीपी फिर्ता लिने वा नलिने विषयमा छलफल भएको छैन : माधव नेपाल

५ असार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) को विषय फिर्ता लिने वा नलिने विषयमा छलफल नभएको बताएका छन् । आज (आइतबार) सम्पादकहरूको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले सत्तारुढ सबै दल एसपीपीको विपक्षमा रहेको भन्दै यसो विषयमा गठबन्धन भित्र छलफल नभएको बताएका छन् । उनले प्रधानमन्त्री देउवाले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि सम्झौता आफूबाट नहुने जानकारी दिएको बताए । ‘नेपालको हितमाथि आघात पुग्ने कुनै पनि सम्झौतामा मबाट हस्ताक्षर हुने छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । गृहमन्त्रीले पनि संसदमा यसबारे बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन,’ उनले भने।



उनले भने ‘एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र छलफल भएको छैन । चिठ्ठी पठाउने भन्ने विषय पनि आएको छ । सेनाको प्रमुखले विदेशी कूटनीतिक नियोगलाई पत्र लेखेको विषय पनि छ ।’

त्यस्तै उनले एक दुई दिनभित्र मन्त्री हेरफर हुने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिए । ‘नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केही दिन समय मागेपछि मन्त्रिमण्डल हेरफेर गर्न ढिलाइ भएको हो; नेपालले भने, ‘प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरू परिवर्तन गर्छु भन्नुभएको छ । ‘ यस्तै उनले आगामी निर्वाचनमा कुनै पनिपार्टीले मात्र बहुमत नल्याउने भएकाले यो गठबन्धन निर्वाचनसम्म कायमै रहने बताए ।

सम्बन्धित समाचार