नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असार ।
नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) भएको खेलमा नेपालले बहराइनलाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
वर्षाको कारण ढिलो सुरु भएको खेल ७ ओभरमा झारिएको थियो । मलेसियाको किनरारा ओभलमा टस हारेर हिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । बहराइनको लागि इशारा सुहानले६ रन बनाइन् भने थरङगा गजनानायके, रासाङगिका हेराथ र शशिकल प्रकाशले समान २-२ रन बनाउँदा तीन खेलाडीले खाता नै खेल्न सकेनन् । नेपालका लागि कविता कुँवर र सबनम राईले समान २-२ विकेट लिंदा तथा अशिमिना कर्माचार्यको भागमा १ विकेट रह्यो ।
१५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सीता राना मगरले ४ रन बनाईन् । भने कविता कुँवर ३ रनमा अविजित रहिन् । बहराइनको लागि पभित्रा सेट्टी र भिलसीटा बारबोजाले समान १-१ विकेट लिए । जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको छ । नेपालले समूह चरणको अन्तिम खेल अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ जसमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् भने समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् । समूहका दुई शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।