‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ ।

बैठक सुरु भएलगत्तै नेकपा(एमाले)का सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाइन् । उनले पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाइन् ।



हेर्दा सामान्यरुपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने भन्दै जनता निरास बनाउने काम गरिएको उनको भनाइ थियो । छोटोछोटो समयमा मूल्यवृद्धि गरेर नागरिकको दैनिक जनजीवन प्रभावित भएको उनले बताइन् । उनले मूल्यवृद्धिका सम्बन्धमा सरकारको तर्फबाट उचित जवाफ नआउँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने जिकिर गरिन् । सांसद अर्यालको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित जवाफ दिन निर्देशन दिए ।

त्यस्तै उनले इम्बोस्ड नम्बर प्लेट जडानमा समेत आर्थिक अनियमितता गरिएको आरोप लगाइन् । यस्तै सोही दलका सांसद लालबाबु पण्डितले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि हालसम्म पनि प्रक्रिया अगाडि नबढेकामा आपत्ति प्रकट गरे ।

सोही दलका सांसद जगतप्रसाद सुनारले बाढी, पहिराका कारण कास्कीका विभिन्न स्थानमा वितण्डा मच्चाएको विवरण प्रस्तुत गरे । सोही पार्टीकै सांसद गणेश पहाडीले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका विद्यार्थीमाथि यही असार ४ गते मिनभवन क्याम्पसमा आक्रमण गरिएको बताए । सांसद सरिताकुमारी गिरीले न्यायको माग राख्दै आमरण अनशनमा बसेकी निहारिका राजपूतका सम्बन्धमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरिन् । शान्तिमाया तामाङ पाख्रिनले स्थानीय निर्वाचनका क्रममा दोलखामा भएको घटनाका बारेमा जानकारी गराइन् ।रासस

सम्बन्धित समाचार