मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले असार ६ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने , सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एपीपी) लाई अघि नबढाउने निर्णय

सबै सरकारी निकायहरुले कुटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय मार्फत् गर्ने निर्णय

नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय

राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय

नेपाल वायु निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने निर्णय

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरुप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय

सम्बन्धित समाचार