बालेन र हर्कको भूमिकामा निहित हुनेछ स्वतन्त्रहरूको भाग्य र भविष्य

स्वतन्त्र उम्मेद्वारहरूले पार्टी खोल्नेदेखि संघीय निर्वाचनमा देशभरिबाट उम्मेद्वारी दिनेसम्मको तयारी गर्न थालेका छन् । स्वतन्त्र उम्मेद्वारले स्थानीय निर्वाचनमा जुन जनमत प्राप्त गरेका छन्, त्यसले के देखाउँछ भने नेपाली जनताले राजनीतिक दलहरूको विकल्प खोजिरहेका छन् । ठूला भनिएका राजनीतिक दलहरूको रवैयाबाट वाक्कदिक्क बनेका नेपाली जनताले संघीय र प्रदेश सभाको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदारहरूलाई आफ्नो मत जाहेर गर्ने सम्भावना बढेर जाने देखिन्छ ।

आगामी निर्वाचनमा देशभरिबाट स्वतन्त्र उम्मेद्वारहरू उल्लेखनीय रूपमा प्रतिस्पर्धाको लागि मैदानमा उत्रिएर ठूला भनिएका राजनीतिक दलहरूलाई राम्रै सबक सिकाउने निश्चितजस्तै देखिएको छ । आआफ्नो पेसा वा व्यवसायिक कर्मबाट देश र जनतासमक्ष आफूलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै आएका र आशालाग्दा व्यक्तिहरू नै देश बनाउने अभियान बोकेर स्वतन्त्र रूपमा राजनीतिको मूलधारमा आफुलाई समाहित गर्न खोज्दै छन् । मुलुक निर्माणका लागि यसलाई एउटा सकारात्मक सङ्केतका रूपमा लिन सकिन्छ ।



विधिवत् रूपमा दल दर्ता गरेर प्रतिस्पर्धाको लागि राजनीतिक मैदानमा आएपछि को कति ‘स्वतन्त्र’ रहन्छ भन्ने कुरा बहसको विषय बन्ला तर स्वतन्त्रहरू सङ्गठित भएर पुराना भनिएका दलहरूलाई नै चुनौती दिनेगरी राजनीतिमा होमिनु भनेको एकदमै राम्रो कुरा हो । यसरी स्वतन्त्र रूपमा राजनीतिक मैदानमा उत्रनेहरू अधिकांश युवा पुस्ताका देखिएकोले पनि उनीहरूबाट देश र समाजले धेरै कुरामा आशा राख्न सक्दछ ।

चर्चित सञ्चारकर्मी, प्रहरीका पूर्व डिआइजी, नाम चलेका कलाकारदेखि सामाजिक अभियान्ताहरूसम्मले आगामी निर्वाचनमा स्वतन्त्र रूपमा भाग लिने तयारी गरिरहेको बुझिएको छ । स्वतन्त्रहरूका लागि अनुकूल वातावरण बनाउने कार्य ठूला भनिएका राजनीतिक दलहरूले नै गरेका हुन् । उनीहरू निकम्मा नभएको भए, आफैंले बनाएको राजनीतिक एजेण्डाअनुसार चलिदिएको भए, देश र जनताका समस्याको सम्बोधन गरिदिएको भए र जनताले अनुभूति गर्ने किसिमले काम गरिदिएको भए कुनै पनि व्यक्ति ‘स्वतन्त्र’ रूपमा उठ्ने हिम्मत गर्दैन थियो होला । तर ठूला र पुराना भनिएका दलहरूसँग त गफबाहेक देश बनाउने त्यस्तो नयाँ खाका र योजना केही पनि रहेनछ । विचार, निष्ठा र प्रवृत्तिमा परिवर्तन नभएपछि व्यवस्थाको नाम र कुर्सीमा बस्ने व्यक्ति परिवर्तन भएर मात्र केही नहुँदोरहेछ भन्ने कुरालाई पछिल्लो राजनीतिक अभ्यासले प्रमाणित गरिदिएको छ ।

लोकतन्त्रमा देश बनाउने जिम्मा राजनीतिक दलहरूकै हो तर दलहरू दलगत स्वार्थभन्दा माथि उठ्न नसक्ता, स्वार्थसमूहको घेराबाट बाहिर निस्कन नसक्ता, जनजीविकाका कुरामा ध्यान पुर्याउन नसक्ता र जनप्रतिनिधिहरू नै भ्रष्ट तानाशाहजस्तो भइदिँदा स्वतन्त्रहरूले ‘स्पेश’ पाएका हुन् । अतः अप्रत्यक्ष रूपमा स्वतन्त्रहरूलाई राजनीतिमा आव्हान गर्ने कार्यमा पुराना राजनीतिक दलहरूकै अहम् भूमिका रहेको सत्यलाई सबैले स्वीकार्न सक्नुपर्दछ ।

स्थानीय तहको निर्वाचनबाट स्थापित बालेन शाह तथा हर्क राईहरू असक्षम पार्टी–राजनीतिका बाई–प्रोडक्ट हुन् । अब स्वतन्त्रहरूको अस्तित्व उनीहरूको कर्म र भूमिकामा निहित हुनेछ । यदि उनीहरूले राम्रो कामको थालनी गर्न सके भने अब हुने चुनावहरूमा दलका उम्मेद्वारहरूको भन्दा स्वतन्त्र उम्मेद्वारहरूको पल्ला भारी हुनेछ । शाह र राई दुबैको थालनी प्रशंसनीय छ । जनतालाई त काम चाहिएको हो, उनीहरूले वर्षौदेखि व्यहोर्दै आएको पीडा र अव्यवस्थाको अन्त्य चाहिएको हो । यदि त्यो काम स्वतन्त्रहरूबाट सहज रूपमा सम्पादन हुन्छ भने स्वतन्त्रहरूलाई छान्ने विकल्प नै जनताका लागि उत्तम विकल्प बन्नेछ । यदि त्यसो भइदियो भने आगामी चुनावमा धेरै स्वतन्त्रहरूले आफूलाई परीक्षण गर्ने सु-अवसर प्राप्त गर्नेछन् । राजनीतिमा यो अन्तिम विकल्प नभए पनि तत्कालका लागि भने उत्तम विकल्प सावित हुनेछ ।

सम्बन्धित समाचार