भ्यागुताको सामूहिक चिहान फेला परेपछि…

यूकेमा एउटा पुरातात्त्विक स्थलनजिकै नयाँ बाटो खन्ने क्रममा भ्यागुताका ८,००० वटाभन्दा बढी प्राचीन हाडखोड भेटिएपछि विज्ञहरू अचम्ममा परेका छन् । केम्ब्रिजनजिकै लौहयुगीन एउटा गोलघरको छेउमा फेला परेको एउटा खाल्डोमा झन्डै ३५० वटा भ्यागुताका अवशेषहरू थिए ।

लन्डन पुरातत्त्वातिक सङ्ग्रहालय (मोला) मा कार्यरत वैज्ञानिकहरूले ‘अवशेषहरू त्यति परिमाणमा एउटै ठाउँमा’ फेला पर्नु ‘असामान्य’ भएको बताएका छन् । उनीहरूलाई ती हड्डीहरू कसरी त्यहाँ थुप्रिए भन्ने थाहा हुन सकेको छैन ।



लौहयुगको मध्यम र अन्तिम चरणमा प्रयोगमा रहेको एक गोलघरको पश्चिमपट्टि अवस्थित एक १४ मिटर लामो खाल्डोमा अधिकांश हड्डीहरू फेला परेका थिए । सङ्ग्रहालयका विज्ञहरूका अनुसार उक्त क्षेत्रमा रहेका अरू पुरातात्त्विक स्थलमा भ्यागुताजस्ता उभयचरका निकै कम अवशेष फेला पर्ने गरेको छ ।

मोलाका अनुसार पुरातात्त्विक अध्ययन गरिने क्षेत्रमा भ्यागुताको हड्डी नभेटिने हैन तर अहिले भेटिएको परिमाण असाधारण छ । यो ‘आश्चर्यजनक र अनौठो खोजले मोलाका प्राणीपुरातत्त्वशास्त्रीहरूलाई जासुसी अनुसन्धान गर्न अग्रसर’ गराएको मोलाको भनाइ छ ।

अनुमान
अहिलेसम्म ती हड्डीका थुप्रोबारे केही अनुमानहरू गरिएका छन् । हड्डीमा पोलेको, काटेको वा टोकेको कुनै सङ्केत छैन। त्यसैले मानिस वा अन्य प्राणी वा चराले ती भ्यागुता खाएर हड्डी फालेको सम्भावना न्यून छ ।

बरु भ्यागुताहरू आहाराको लोभमा त्यहाँ पुगेका हुन सक्छन् । उक्त स्थाननजिकै खाद्यान्न प्रशोधन गर्ने गरिएको प्रमाण फेला परेको छ। त्यसैले विभिन्न खालका खबटे र लाईकीरा खान भ्यागुता गएको अनुमान छ । सहवासका लागि ठाउँ खोज्दै जाँदा भ्यागुताहरू खाल्डोमा खसेको तर पछि बाहिर निस्किन नसकेको पनि हुनसक्छ । अथवा जाडोयाममा शीतनिद्रामा बस्दा वा कुनै रोगका कारण तिनको मृत्यु भएको हुनसक्ने सम्भावना पनि छ ।

मोलामा कार्यरत वरिष्ठ वैज्ञानिक डा. भिकी यूअन्स भन्छिन्, ‘यो अचम्मलाग्दो र अनपेक्षित खोज हो । हामी अझ यो कुरा बुझ्ने प्रयास गर्दै छौँ ।’
उनका अनुसार सम्भवतः लामो अवधिसम्म विभिन्न कारणले भ्यागुताको अवशेष जम्मा भएको हुनसक्छ । ‘तर ती के हुन् भन्ने हामी अझै निश्चित छैनौँ,’ उनले भनिन् ।

उक्त स्थानमा फेला परेका विभिन्न वस्तुबारे अनुसन्धान भइरहेको छ । ‘त्यतिबेलासम्म यो प्राग‍-ऐतिहासिक कालदेखिको भ्यागुतो-रहस्य कै रूपमा रहनेछ,’ पुरातत्त्वविद्हरूले भने ।बीबीसी

 

 

 

सम्बन्धित समाचार