सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्याउने विषयमा छलफल केन्द्रीत भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।



उनले भने ‘सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण भयो। प्रधानमन्त्रीजीले नागरिकताको विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ ।’ बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्माले शान्ति प्रक्रियाबारे अहिलेसम्मको प्रगति विवरण समीक्षागत रुपमा प्रस्तुत गरेको उनले उल्लेख गरे ।

आमा, बुवा नागरिक तर उनका सन्तान नागरिकताबिहीन भएको अवस्था अन्त गर्न यसको अग्रसरताका लागि सो निर्णय भएको उनको भनाइ छ । त्यस्तै बैठकमा विविध कारणले बढ्दै गएको बजारको महंगी लगायतका विषयमा पनि छलफल भएको मन्त्री कार्कीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका शीर्ष नेता सहभागी थिए ।

सम्बन्धित समाचार