नेपाल एसिया कपमा छनोट हुन असफल

वर्षा भयो बाधक

नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न असफल भएको छ । आज (शुक्रबार) वर्षाका कारण  खेल रद्द भएपछि समूह चरणको नतिजाका आधारमा युएई प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै अर्को वर्ष आयोजना हुने एसियाकपमा छनोट हुन सफल भएको हो ।

युएई समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गरेको थियो भने नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको थियो । त्यसअघि मलेसियाको किनरारा ओभलमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटिएको थियो ।



युएईका लागि वैष्णवी महेशले १६ रन बनाईन् भने इशा रोहितले १५ रन जोडिनन् । त्यस्तै कप्तान छाया मुघलले १४ रन बनाई आउट भईन् भने खुसी शर्माले १२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालको लागि अश्मिना कर्माचार्यले ५ विकेट लिईन् भने इन्दु वर्माले ३ विकेट लिँदा सीता रानाको भागमा २ विकेट रह्यो । ८२ रनको लक्ष्य लिएर मैन उत्रने तयारी रहेको नेपालको पारीमा लगातार पानी परेपछि खेल रद्द भएपछि युएईलाई भाग्यले साथ दिँदा फाइनल प्रवेश गर्यो भने नेपालको फाइनल पुगेर एसिया कप खेल्ने सपना अधुरै रह्यो ।

पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । तर समूह चरणको अन्तिम खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ। जसमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका थिए भने समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।

 

 

सम्बन्धित समाचार