पदभार ग्रहण गर्दै यसो भने मन्त्री चौधरी र खापुङले

नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान एवं कानुन अनुसार काम गर्न मन्त्रालय तथा त्यसअन्तर्गतका विभाग र निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।

शपथ ग्रहणपछि सोमबार मन्त्रालयमा पदबहाली गरी कर्मचारीलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा व्यक्तिभन्दा कानुन महत्वपूर्ण हुने बताए । कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुने भएकाले पनि त्यसैअनुरुप काम गर्नुपर्नेमा मन्त्री चौधरीले जोड दिएका थिए ।



‘व्यक्ति भनेर लाग्दा संविधान बिग्रन्छ, यो विगतमा हामीले देखिसकेका छौँ, सबै जना विधिअनुसार चल्नुपर्छ, जिम्मेवारी र दायित्वअनुसार मुलुक निर्माणमा योगदान गर्नुपर्छ, कर्मचारीले नयाँ मन्त्री आउने बित्तिकै सरुवा हुन्छ भनेर डराउनुपर्दैन, नियोजित रुपमा असहयोग गर्नेलाई भने छोड्न सकिँदैन’, उनले भने ।

सीमान्तकृत वर्गदेखि राष्ट्रपतिसम्मको आवास निर्माण गर्ने, सहरी विकास र सरकारी भवन निर्माणको जिम्मेवारी पाएको मन्त्रालयलाई सही दिशा दिने प्रतिबद्धता मन्त्री चौधरीको थियो । मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले आवास तथा बस्ती विकास, सरकारी भवन र सहरी विकासका क्षेत्रमा काम गर्ने गरी मन्त्रालय स्थापना भएको जानकारी गराए । मन्त्रालयले सहरी विकास, बागमती सभ्यता संरक्षण ऐन,–२०७९ मस्यौदा गरी अघि बढाउने तयारी गरेको जानकारी पनि उनले गराएका थिए ।

त्यस्तै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले नेपाल सरकारले ग्लोबल फण्डका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले जानकारी दिइन् ।

स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउन पहलकदमी गर्ने बताए । दुर्गम क्षेत्रमा उपचार नपाएकाका लागि लक्ष्य गरेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ रहेको थियो । उक्त निर्णय मन्त्रिपरिषद्मा पठाएपछि कार्यान्वयन हुने मन्त्रालयका प्रवक्ता डा. मिश्राले जानकारी दिइन् । उनले ग्लोबल फण्डको कार्यक्रम सन् २०२४ देखि सरकारको मातहतमा ल्याउने र त्यसका लागि सचिवालयसमेत स्थापना गर्ने बताए । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले पनि पदभार ग्रहण गरे । राज्यमन्त्री केसी २०७४ सालको सङ्घीय निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । सोही अवसरमा निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्री केसीलाई स्वागत गरेका थिए ।रासस

सम्बन्धित समाचार