नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असार ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तनहुँ, व्यास नगरपालिका-१२ देउरालीस्थित सडकमा बा.४३ प ३०२० नम्बरको मोटरसाइकललाई ग.३ च ४१८२ नम्बरको बलेरोले मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भएका २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा सवार मकवानपुर भिमफेदी गाउँपालिका-१ घर भएका २३ वर्षीय दिपेश गोले रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवार साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङ, रंगेली नगरपालिका-७ माउन्टेन मकालु बोर्डिङ स्कुलको गेटमा स्कुलको को.१ क ११३० नम्बरको बसको ठक्करबाट स्कुलका विद्यार्थी सोही ठाउँ बस्ने महादेव मण्डलको छोरा ४ वर्षीय रितिक मण्डलको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका रितिकको टाईम्स अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएकी स्कुलकी विद्यार्थी रंगेली नगरपालिका-६ बस्ने नरेश मण्डलकी छोरी ५ वर्षीया सनम कुमारी मण्डललाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । हाल फरार रहेका बसका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै प्युठान, ऐरावती गाउँपालिका-४ धुवाङस्थित सडकमा सु.प.प्र. १००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने ३८ वर्षीया शान्ता रोकाको बुधबार बिहान मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

