नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।
क्यानाडा टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । आज (शुक्रबार) हुने खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
क्यानडाको भ्रमणमा रहेको नेपाली टोलीले स्कटल्याण्ड जानुअघि क्यानडाको स्थानिय क्लब ओन्टारियोसँग आज एक खेल खेल्नेछ भने क्यानडाको राष्ट्रिय टोलीसँग दुई अभ्यास खेल खेल्नेछ । नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका रहेको छ ।
नेपाल क्यानाडाबाट नै विश्वकप क्रिकेट लिग -२ को लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । क्यानले यस अघि नै क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियासँग, दोस्रो खेल जुलाई १३ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल १६ खेलबाट १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने २० खेल खेलेको स्कटल्याण्ड २८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १४ खेलमा १४ अंक जोडेको नामिबिया छैटौं स्थनमा रहेको छ ।
नेपाली टिम
कप्तान सन्दीप लामिछाने
उपकप्तान रोहितकुमार पौडेल
दीपेन्द्रसिंह ऐरी
कुशल भुर्तेल
आसिफ शेख
आरिफ शेख
आदिल अन्सारी
पवन सरराफ
करण केसी
विनोद भण्डारी
सोमपाल कामी
किशोर महतो
देव खनाल
वासिर अहमद