मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२६ केशरमहलस्थित निर्माणाधिन भवनमा काम गरी बस्ने रौतहट माधव नारायण नगरपालिका-१ घर भएका २२ वर्षीय अजय कुमार शाह आफू सुतेकै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै म्याग्दी, मंगला गाउँपालिका-२ माटेबगरस्थित सडक किनाराको पानी जमेको खाल्डोमा सोही गाउँपालिका-१ भर्जुला बस्ने ७८ वर्षीया धन देबी थापा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यता मकवानपुर, भिमफेदी गाउँपालिका-९ ढुङ्ग्यान बस्ने ३९ वर्षीया दुर्गा बर्तौला भट्टराई घरबाट १ किलोमिटर टाढा रहेको मनहरी खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट बुधबार हिँडेकी उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।



यस्तै सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिका-३ बस्ने ४० वर्षीया कला भुजेल थुलुङदुधकोशी गाउँपालिका-८ दुधकोशी खोलाको किनारमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । गत वैशाख १८ गते देखि बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।

यता महोत्तरी, बलवा नगरपालिका-४ तिलगरस्थित रातो खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब ७ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-६ चोभारस्थित बाग्मती नदी किनारको झाडीमा करिब ९ महिनाको पुरूष नवजात शिशुको शव बिहीबार फेला परेको छ ।

यसैगरी तेह्रथुम, म्याङलुङ नगरपालिका-९ टुक्रेस्थित सडकको नालीमा सोही नगरपालिका-४ पिप्ले बस्ने ३० वर्षीय सार्के बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता दार्चुला, महाकाली नगरपालिका-८ दहकोट बस्ने ३६ वर्षीय गणेश सिंह बिष्ट घरबाट ३ सय मिटर टाढा सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै रूपन्देही, सैनामैना नगरपालिका-१ जनहितटोलस्थित सडक छेउको खेतमा सोही नगरपालिका-४ सदभर्दा बस्ने ३० वर्षीय दिपक कुमाल बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका-१ रानिबगियास्थित आफ्नो कोठा जान्छु भनि बुधबार साँझ घरबाट निस्किएका उनलाई उक्त स्थानमा साइकल सहित लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो ।

त्यस्तै मोरङ, पथरीशनिस्चरे नगरपालिका-६ केचना बस्ने ३५ वर्षीय राम कृष्ण शर्मा सुनवर्शी नगरपालिका-१ स्थित कमल पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत मंगलबार घरबाट हिँडेकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको हो । सोधपुछका लागि उनीसँगै गएका १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार