एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति

एनआईसी एशिया बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको जनाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले एनआईसी एशिया बैंकले यस ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालका एनआईसी एशिया मो–बैंक प्रयोगकर्ताहरूले वर्तमान एनआईसी एशिया मो–बैंक एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्नेछन् भने नयाँ ग्राहकहरूले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्ने जनाइएको छ ।



‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् भने निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी गरिरहेको एनआईसी एशिया बैंकले जनाएकोे छ । स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ – ‘यस बैंकमा खाता नहुनुभएका महानुभावले पनि यो एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन्, जसबाट समेत क्युआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सकिनेछ । ग्राहकको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ ।’

सम्बन्धित समाचार