दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

क्यानडा टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा नेपालले क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको हो । अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जित हो ।

क्यानडाको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।नेपालका लागि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै क्रमश: ७१ र ५४ रन बनाए भने पवन सर्राफले ३७ रन जोडे । त्यस्तै देव खनाल २० रन बनाई आउट भए भने आदील आलम १० रनमा अविजित रहे । ओन्टारियोका लागि रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले समान १-१ विकेट लिए ।



२१० रनको लक्ष्य लिएर मैदान उत्रेको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै १५४ रनमा समेटिएको थियो । ओन्टारियोको लागि भरुण सेहदेबले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै नरेश बुढाऐरले ४१ रन बनाए भनेजाडे पाडेमोरले ३७ रन जोडे । नेपालको लागि सोमपाल कामीले २ विकेट लिए भने करण केसी, आदील आलम र किशोर महतोको भग्मन समान १-१ विकेट रह्यो । पहिलो अभ्यास खेल एकदिवसीय फर्म्याटमा रहेको थियो भने दोस्रो अभ्यास खेल टी-२० फर्म्याटमा रहेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो ।

अब नेपालले क्यानडासँग असार २१ र २२ गते गरी दुईवटा खेल खेल्ने तालिका रहेको छ । नेपाल क्यानाडाबाट नै विश्वकप क्रिकेट लिग -२ को लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । क्यानले यस अघि नै क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियासँग, दोस्रो खेल जुलाई १३ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल १६ खेलबाट १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने २० खेल खेलेको स्कटल्याण्ड २८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १४ खेलमा १४ अंक जोडेको नामिबिया छैटौं स्थनमा रहेको छ ।

नेपाली टिम
कप्तान सन्दीप लामिछाने
उपकप्तान रोहितकुमार पौडेल
दीपेन्द्रसिंह ऐरी
कुशल भुर्तेल
आसिफ शेख
आरिफ शेख
आदिल अन्सारी
पवन सरराफ
करण केसी
विनोद भण्डारी
सोमपाल कामी
किशोर महतो
देव खनाल
वासिर अहमद

 

सम्बन्धित समाचार