पहिलो एकदिवसीय खेलमा नेपाल र क्यानडा भिड्दै

क्यानडा टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एकदिवसीय खेलमा घरेलु टोली क्यानडाविरुद्ध खेल्दैछ । आज (मंगलबार) क्यानडाको किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो पहिलो एकदिवसीय खेलमा घरेलु टोली क्यानडालाई पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनाका साथ मैदान उत्रदैछ भने घरेलु टोली क्यानडा पनि पाहुना टोली नेपाललाई हराउने योजनामा रहेको छ । नेपाल र क्यानडाबीच दुई एकदिवसीय खेल हुनेछ । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल भोलि (बुधबार) हुनेछ ।



यसअघि नेपालले क्यानडाको स्थनीय क्लब ओन्टारियोसँग दुई अभ्यास खेल खेलेको थियो । जसमा दुबै खेलमा नेपाल विजयी भएको थियो । नेपाल क्यानडाबाट नै विश्वकप क्रिकेट लिग -२ को लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । क्यानले यसअघि नै क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियासँग, दोस्रो खेल जुलाई १३ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल १६ खेलबाट १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने २० खेल खेलेको स्कटल्याण्ड २८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १४ खेलमा १४ अंक जोडेको नामिबिया छैटौं स्थनमा रहेको छ ।

सम्बन्धित समाचार