कविता : प्रकृति बोल्यो– शुभप्रभात !

विशाल गगनको आँगनमा
चन्द्रमा र ताराहरूले लुकामारी गर्दागर्दै
पूर्वी क्षितिजमा लालिमा पोतियो
नयाँ बिहानीको सन्देश दिँदै
चराचुरुङ्गीको मीठो स्वर गुञ्जियो
मेरा मृदुल नयनसँगै
फुलबारीबाट फूल पनि ब्यँुझियो
र, मुस्कुराउदै भन्यो–
शुभप्रभात !

चराचरको सानो गाउँ
बास, फल, फूल र प्राणवायु पाइने सुन्दर ठाउँ
थकित पाउले हिम्मतसाथ उभिएको
उदार वृक्षले
दुनियालाई जीवन जीउन सिकाउँदै भन्यो–
शुभप्रभात !



पहाडबाट छुट्टिएर, अरूको हितमा
सागरलाई भेट्न निरन्तर दौडिरहेको नदी
पहाडसँगको नाता र अन्तरसम्बन्धको
सुमधुर सन्देश दिँदै भन्यो–
शुभप्रभात !

बाढी, पहिरो, डढेलो र
ग्लोवल वार्मिंङका सकसहरू सहँदै
बॉच्न संघर्षरत तर सहनशील धर्तीले
जीवन रक्षाको लागि अनुरोध गर्दै भन्यो–
शुभप्रभात !!

हाल– टेक्सास, अमेरिका

सम्बन्धित समाचार