नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २ हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९६ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ६२५ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५६४ रहेको छ । जसमध्ये ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना संस्थागत आइशोलेशनमा, ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८० हजार १४१ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ५९२ जना पुगेको छ ।