नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २ हजार ६१५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ६५६ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६०५ रहेको छ । जसमध्ये ५९६ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना संस्थागत आइशोलेशनमा, ६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८० हजार २१३ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ६२२ जना पुगेको छ ।