नवराज घिमिरे
काठमाडौं, २६ असार ।
नेपालको उद्योग तथा व्यवसायका क्षेत्रमा एक चिरपरिचित नाम हो पञ्चकन्या ग्रुप । इस्वी सम्बत् १९७२ मा स्थापना भएर अविछिन्न गतिशील यस ग्रुपले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरिसकेको छ । यस अवधिमा ‘पञ्चकन्या’ नेपालको विश्वसनीय र स्थापित ब्राण्ड बन्न पनि सफल भएको छ ।
झापाको विर्तामोडनजिकै रहेको पञ्चकन्याबाट पञ्चकन्या राइस मिलबाट आरम्भ भएको पञ्चकन्याको औद्योगिक र व्यवसायिक यात्रा आज भैरहवा, थानकोट, पाटन औधोगिक क्षेत्र र अमलेखगञ्ज आदि क्षेत्रहरूमा फैलिएको छ । धान कुट्ने राइस मिलबाट आरम्भ भएको उद्योग स्थापनाको यात्रा अहिलेसम्म आइपुग्दा व्यापक बनिसकेको अवस्था छ । पञ्चकन्याको नामबाट आज नेपालमा धेरै वस्तुहरू उत्पादन हुन्छन् । जस्तै, पञ्चकन्या स्टील, आरएमसी ,स्टील टैंक, बिटुमिन र व्यारल, नेपाल सिलिण्डर, कङ्क्रिट मिक्चर, पाइप एण्ड फिटिङ्ख आदिलाई मुख्य उदाहरणका रूपमा लिन सकिन्छ । यसरी पञ्चकन्या इन्ड्रिस्ट्रिज प्रा.लि.का नामबाट स्थापना भएको कम्पनी अहिले धेरै कम्पनीहरूको प्रवाहलाई जोडेर पञ्चकन्या ग्रुप नामको सागर भइरकेको छ ।
पाँच दशकको निरन्तरतासँगै कम्पनीको जिम्मेवारी आज तेस्रो पुस्ता अर्थात् नाति पुस्तासम्म स्थानान्तरण हुन पुगेको छ र, त्यसका लागि नाति पुस्ताले आफूलाई तयारी पनि पारिसकेको अवस्था छ । करिब ५० वर्ष पहिले हजुरबुबा प्रेमबहादुर श्रेष्ठले आरम्भ गरेको व्यवसायिक विरासतको जिम्मेवारी अहिले उनकै नाति पुस्ताका उज्ज्वल श्रेष्ठको काँधसम्म पुगेको छ । उज्ज्वल अहिले पञ्चकन्या ग्रुपको कार्यकारी निर्देशकको भूमिकामा आफ्नो क्षमता र कार्यकुशलता प्रदर्शन गरिरहेका छन् । सिर्जनशीलतालाई उमेरले छेक्न सक्दैन भन्ने कुरालाई उनले प्रमाणित पनि गरिदिएका छन् ।
पञ्चकन्या ग्रुपमा अहिले धेरै प्रतिष्ठानहरू जोडिएका छन् । ती सबैमा गरेर अहिले करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगार पाइरहेका छन् भने आश्रित र परोक्ष रूपमा जोडिएका समेत गरेर हजारौं व्यक्तिहरूले पञ्चकन्या ग्रुपको न्यानो आधार पाएका छन् । यो आफैंमा कम सुखद् पक्ष होइन ।
गुणस्तरीय उत्पादन र विश्वसनीय छविका कारण पञ्चकन्या ब्राण्डबाट उत्पादित सामग्रीहरू स्वदेशमा मात्र होइन विदेशमा पनि निर्यात हुन थालेको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । ब्राण्डप्रतिको विश्वसनीयता नै सफलताको कारण भएको उनको भनाइ छ । उत्पादित सामग्रीको गुणस्तर र विश्वसनीयताका कारण स्वदेशी र विदेशी सबैको रोजाइमा पञ्चकन्याका उत्पादन पर्न सफल भएको धारणा राख्ने श्रेष्ठ आम उपभोक्ताको यस विश्वासलाई बचाइराख्न अथक प्रयास जारी राख्ने बताउँछन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चकन्या ग्रुपले बेला बेला सामाजिक कार्यमा पनि आफूलाई संलग्न गर्दै आएको छ । अस्पताल भवन निर्माणदेखि रक्तदान कार्यक्रासम्ममा ग्रुपले आफ्नो सहभागिता जनाउँदै आएको छ । देशमा दैवी विपत्ति पर्दा मात्र होइन, अन्य समयमा पनि ग्रुपले समाजमा सहयोग र सद्भावको बलियो नमूना प्रस्तुत गर्दै आएको छ ।
उद्योग संचालन, उत्पादन र बजारीकरणमा भने सरकारी सकारात्मक नभएको र सरकारको गलत रवैयाकै कारण बेला बेला असजिलो व्यहार्नु परेकोे पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ बताउँछन् । वर्षेनी करोडौं कर तिर्ने र हजारौंलाई रोजगारी प्रदान गर्ने उद्योगहरूका समस्याहरूलाई सरकारले यथोचित सम्बोधन गरी उद्योगमैत्री वातावरण बनाउन सके उद्योगीहरू थप उत्साही हुने कुरामा उनी ढुक्क देखिन्छन् ।