लाम्काने पाठो सिम्बा विश्वभरि चर्चित

डम्बोबारे धेरैले सुनेका छन् । कार्टुन चलचित्रको यो हात्तीलाई लामो कान भएका कारण साथीहरूले जिस्काउँछन् र उसलाई सर्कसमा क्रूर तरिकाले प्रदर्शन गर्न बाध्य पारिन्छ । लामो कान भएका कारण चर्चित बन्ने अब डम्बो एक मात्र जनावर रहेन ।

पाकिस्तानको कराँचीको पाठो सिम्बाको प्रत्येक कानको लम्बाई २१ इन्च छ । र, समय पनि परिवर्तन भएको छ । सिम्बा ठट्टाको पात्र होइन, सौन्दर्य प्रतियोगिता जितेर र शानको जिन्दगी बिताएर यो पाठो विश्व चर्चित बनेको छ ।



सिम्बा पालेका मोहम्मद हसन नारेजोले एएफपीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा हालसम्मकै सबैभन्दा उत्कृष्ट बाख्रोको रूपमा नाम लेखाउन प्रयास गरेको बताएका छन् । कीर्तिमानको पुस्तकमा सबैभन्दा लामो कान भएको बाख्रोको हालसम्म प्रविष्टि नभएकोले सिम्बाको कान विश्व कीर्तिमान हो वा होइन भन्ने स्पष्ट छैन । तर जे भए पनि सिम्बाको तस्बिर सोसल मिडियामा प्रख्यात हुन थालेपछि पाकिस्तानमा यो पाठो चर्चित बनेको छ ।

तर त्यति लामो कान लिएर जन्मेको पाठोका आफ्नै चुनौतीहरू पनि छन् । पहिलो चुनौतीले आफ्नै कानमा अल्झिएर लड्ने हो कि भन्ने छ। त्योबाट बचाउन नारेजोले सिम्बाको कानलाई ढाडमा बाँधेर राख्न एउटा पेटी बनाएका छन् । अर्को तनाव भनेको प्रतिद्वन्द्वी बाख्रा पालकहरू रहेका छन् । अन्यको नराम्रो कार्यबाट बच्न नारेजोले प्रार्थना र परम्परागत विधिहरू गर्ने गरेका छन् ।

‘खराब नजरबाट बचाउन हामी कुरानको पाठ गर्छौँ,’ नारेजोले एएफपीलाई बताए । तर नारेजोको लक्ष्य भने ठूलो छ । उनी सिम्बालाई हुर्काएर पाकिस्तान विश्वमै अग्रणी बाख्रापालन देश भएको देखाउन चाहन्छन् । उनले भने, ‘सिम्बाको पाकिस्तानको नाम विश्वभर सुनिनुपर्छ ।’ सिम्बाको कान भने अझै बढिरहेको छ । विगत तीन साताको सिम्बाको कान थप छ सेन्टिमिटर लामो भएको छ । बीबीसी

सम्बन्धित समाचार