नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ४५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३७५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ६८७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६७८ रहेको छ । जसमध्ये ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशनमा, ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८० हजार ३१७ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ६३९ जना पुगेको छ ।