मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । ओखलढुंगा, मोलुङ गाउँपालिका-१ करङ पाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै झापा, कमल गाउँपालिका-७ भट्टाराई चोक छेउमा रहेको खाली जग्गामा दमक नगरपालिका-७ बस्ने ३० वर्षीय तुलाराम दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् । यता सर्लाही, कबिलासी नगरपालिका-९ सलेमपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय इन्द्रजित ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै कपिलवस्तु, महाराजगंज नगरपालिका-१० मुजाहनास्थित खेतमा सोही ठाउँ बस्ने ३८ वर्षीय धन्नु धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, धनुषाधाम नगरपालिका-३ सोनापुरस्थित जग्गामा सबैला नगरपालिका-७ लपटोली बस्ने ६० वर्षीय देवलाल यादव शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित शंखु जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यता रूपन्देही, तिलोत्तमा नगरपालिका-६ पश्चिम पहुनीस्थित तिनाउ नदी किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २२ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी कैलाली, महोन्याल गाउँपालिका-७ चिप्लेस्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार