नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार २० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ७२४ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७७० रहेको छ । जसमध्ये ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशनमा, १२ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८० हजार ४४६ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ६७८ जना पुगेको छ ।