मृत अवस्थामा ९ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । गुल्मी, छत्रकोट गाउँपालिका-५ खर्ज्याङ बस्ने ६७ वर्षीय कृति कुमार श्रेष्ठ सोही ठाउँस्थित बाह्रबिसे खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै बर्दिया, गेरुवा गाउँपालिका-३ शान्तिबजार बस्ने मिलन थारुकी छोरी १ वर्ष ६ महिनाकी कृष्टिना थारू राजापुर नगरपालिका-१ गोठारपुरस्थित झबही कुलोमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । घरमा खेलिरहेको अवस्थामा हराएकी उनको खोजी गर्ने क्रममा उक्त कुलोमा उनको शव फेला परको हो ।



यस्तै नवलपरासी(पूर्व), गैँडाकोट नगरपालिका-१३ हर्कपुर चोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेकी करिब ४२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोक बसपार्कमा पर्वत कुश्मा नगरपालिका- १४ बस्ने ३६ वर्षीय राजु नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कपिलवस्तु, बाणगंगा नगरपालिका-३ ठाटीस्थित त्रिशक्ती इँटा उद्योगमा लेबर काम गरी बस्ने रोल्पा त्रिबेणी गाउँपालिका-५ घर भएका ३२ वर्षीय निर्मल राना मगर सुतेकै ठाउँमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सिरहा, कर्जन्हा नगरपालिका-२ स्थित कमला नदीमा सोही ठाउँ बस्ने १७ वर्षीय महमद अली र भारत बिहार घर भई ईद पर्व मनाउन आएका उनका फुपाजुको छोरा १९ वर्षीय जफर शेख सोमबार मृत अवस्थामा फेला परेका छन् । ज.९ प ६१९४ नम्बरको मोटरसाइकलमा घुम्न भनि आइतबार दिउँसो निस्किएका उनीहरूको उक्त नदीमा शव फेला परेको हो । साथै उक्त मोटरसाइकल धनुषा गणेशमान चारनाथ नगरपालिका-५ स्थित कमला खोलाको किनारमा फेला परेको छ ।

यता रामेछाप, लिखुतमाकोशी गाउँपालिका-४ बिजुलीकोट बस्ने ४३ वर्षीय मेख बहादुर सार्की सोही गाउँपालिका-४ कोटगाउँ दुसिमस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यही असार १६ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त जंगलको गोरेटो बाटोमा टाउकोको भाग र सो ठाउँबाट करिब २ सय ५० मिटर टाढा रहेको पहरोमा शरीरको भाग फेला परेको हो ।

त्यसैगरी रूपन्देही, सम्मरीमाई गाउँपालिका-५ तिनाउ नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार