हिमालयन बैंक र सिभिल बैंक मर्ज हुने समझदारी पत्रमा हस्ताक्षर

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ । दुई बैंकबीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले हस्ताक्षर गरेका छन् ।

नेपालको वित्तिय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्युजिशन नीतिको अनुसरण गर्दै दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।



हिमालय बैंकबाट प्राप्त विज्ञप्तिका भनिएको छ– हिमालयन बैंक तथा सिभिल बैंक दुवै नेपालको बैंकिङ्ग क्षेत्रका अग्रणी बैंकहरु हुन् । देशको बैंकिङ्ग इतिहासमा चौथो संयुक्त लगानीको रुपमा २०४९ साल माघ ५ गते स्थापना भएको हिमालयन बैंक लिमिटेड एक सवल एवं सक्षम सस्थाको रुपमा परिचित छ । यसै गरी करिब १२ वर्ष अगाडि स्थापना भएको सिभिल बैंक लिमिटेडले नेपालको बैंकिङ्ग क्षेत्रमा पुर्याएको योगदान पनि त्यत्तिकै प्रशंसनीय छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात नेपालको वित्तिय क्षेत्रमा थप उर्जा प्रदान हुने देखिन्छ ।

प्राप्ति पछिको बैंकको नाम हिमालयन बैंक लिमिटेड नै रहने छ भने संचालक समिति हिमालयन बैंककै रहने र संचालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ रहनेछन् । यसै गरी प्रमुख कार्यकारी अधिकृतमा अशोक शम्सेर राणा रहनेछन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने कार्यका लागि १००ः८१ शेयर स्वाप रेसियामा प्रारम्भिक सहमति भएको छ । हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ । त्यसै गरी जगेडा कोषमा हिमालयन बैंकको ८ अर्ब ३ करोड र सिभिल बैंक लिमिटेडको २ अर्ब ९१ करोड रहेको छ । कर्जा लगानीतर्फ हिमालयन बैंकको १ खर्ब ५८ अर्ब तथा सिभिल बंैकको ८६ अर्ब ७४ करोड रहेको छ भने निक्षेप तर्फ हिमालयन बैंकको १ खर्ब ७२ अर्ब तथा सिभिल बैंकको ९३ अर्ब ३३ करोड रहेको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कुल शाखा संख्या १८९ पुग्ने छन् । यस कदमले सस्थाको पुँजी बृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा उल्लेख्य प्रगति हुनेछ । साथै मुलुकको सवल एवं सक्षम बैंकको रुपमा यस संस्था वित्तिय बजारमा स्थापित हुने, ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्ने र लगानी कर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुने उल्लेख छ ।

समारोहमा दुवै बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रतापजङ्ग पाण्डले यस रुपान्तरण प्रयासमा हौसला दिने तथा सहयोग पुर्याउन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका संचालक समिति तथा वरिष्ठ अधिकारीहरु लगायत सबै सुभेच्छुकहरु प्रति आभार व्यक्त गरेका छन् । यसै गरी हिमालयन बैंकका प्रमुख सल्लाहकार हिमालय शम्सेर राणाले मर्जर/एकयुजिशन कार्य आफैमा चुनौतीपुर्ण भएको बताउँदै त्यसमा बैंकले सफलता प्राप्त गरेरै छाड्ने र संस्थालाई नेपालको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट बनाउने प्रण गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा दुवै बैंकका संचालक समिति, मर्जर समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार