पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा ल्याइने

सेप्टेम्बर महिनादेखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर बलुन नेपाल प्रालिले पुनः सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीले सन् २०१८ नोभेम्बर १६ देखि पोखरामा हट एयर बलुनको उडान आरम्भ गरेको थियो ।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु हुनेछ र फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा यात्रीले पोखरा उपत्यका र आसपासको सौन्दर्यलाई नियाल्न पाउने छन् । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमश्रृङ्खलाको अदभूत र रोमाञ्चक दृश्यावलोकन गर्न पाइने छ ।



यस रोमाञ्चक यात्रा गर्नका लागि नेपाली नागरिकले प्रति व्यक्ति ८ हजार रुपैयाँ तथा विदेशीले प्रति व्यक्ति १ सय अमेरिकन डलर भुक्तानी गर्नु पर्ने छ । यस यात्रामा प्रति व्यक्ति २० हजार डलर बराबरको बीमासमेत हुने पनि कम्पनीले जनाएको छ । २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा एक पटकमा ८ जनाले यात्रा गर्न मिल्ने जनाइएको छ ।

सम्बन्धित समाचार