मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । सिन्धुली, कमलामाई नगरपालिका-१३ मडाहा पुलमुनि कमला नदीमा सोही ठाउँ बस्ने ३३ वर्षीय यादव धामी बिहीबार मृत अवस्थामा फेला परेका हुन् । माछा मार्न भनि दिउँसो घरबाट हिँडेका उनको उक्त नदीमा शव फेला परेको हो ।

यसैगरी सिन्धुली, गोलन्जोर गाउँपालिका-६ बलेनी बस्ने ४५ वर्षीय दिल बहादुर माझी आफ्नै घरबाट ६ सय मिटर टाढा रहेको मकैबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-२० रूपैठास्थित सार्वजनिक नोचा पोखरीमा सोही ठाउँ बस्ने २६ वर्षीय मोहन मुखिया बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



घरबाट बुधबार साईकल लिई हिँडेका उनको उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । यता डोटी, जोरायल गाउँपालिका-१ खडेना बस्ने ४५ वर्षीय मेक बहादुर कामी सोही गाउँपालिका-१ घोराडी भिरबाट करिब ७ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घरबाट बुधबार घण्टेश्वर बजार जान्छु भनि हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो । यस्तै रूकुम (पश्चिम), मुसिकोट नगरपालिका-१२ जमारू बस्ने ५८ वर्षीय लिल बहादुर कामी सोही ठाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट दुध लिएर डिलाडाँडा गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त बाटोमा उनको शव फेला परेको हो ।

त्यसैगरी स्याङजा, हरिनास गाउँपालिका-३ चिसापानी बस्ने ५५ वर्षीय मान बहादुर घर्ती आफ्नै घरबाट करिब ३ किलोमिटर टाढा कच्ची सडकमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा उक्त सडकमा उनको शव फेला परेको हो ।

यता चितवन, भरतपुर महानगरपालिका-१ स्थित प्राकृतिक योग चिकित्सालय बागेश्वरीको मेन गेट छेउमा बन्दै गरेको पर्खाल नजिक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार