एनआईसी एशिया बैंक २५औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक आफ्नो स्थापनाको पच्चीसौं वर्षमा प्रवेश गरेको छ । यस सन्दर्भमा ‘२५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बनाउने दृढ संकल्पका साथ शुरू भएको एनआईसी एशिया बैंकको अतुलनीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी रजत जयन्ती मनाउन गइरहेका छौं’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– यस दौरानमा हामी प्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनिय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन गर्दछौं । नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं ।



बैंकले यस २५ वर्षको यात्रामा आफ्नो शेयरधनी महानुभावहरुको Optimum Wealth Maximization गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनी महानुभावको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मुल्यमा रु. ९,५२०.९७ बराबर प्रदान गर्न हामी सफल भएका छौं । त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन हामी सफल भएका छौं ।

साथै मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले गत आ.व. २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७८/७९ मा खुद मुनाफातर्फ रू. ४.५३ अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (ROE) १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, प्रति शेयर आम्दानी तर्फ रू. ३९.१३ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । त्यसै गरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र Tier 1 Capital Adequacy Ratio (Including Capital Conservation Buffer) ८.९३ प्रतिशत पुर्याई पूँजी व्यवस्थापन तर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७८/७९ को चौथो त्रैमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको’ पनि विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित समाचार