दिनेश गुणावर्धने बने श्रीलंकाको प्रधानमन्त्री

श्रीलंकाको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणावर्धनेले शपथ लिएका छन् । श्रीलंका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणावर्धनेले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिंघेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि आज उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो । भूतपूर्व राष्ट्रपति गोताबाया राजापाक्ष र रनिल विक्रमासिंघेको नेतृत्वमा उनले गृहमन्त्रीका रुपमा काम गरेका थिए ।



आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनीहरूले राष्ट्रपति विक्रमासिंघेको विरोध गरिरहेका छन् । श्रीलंकास्थित सरकार विरोधी प्रदर्शन शिविरमा सुरक्षाकर्मीले छापा मारेको थियो ।

सम्बन्धित समाचार