कोरोना संक्रमितको ग्राफ उकालो लाग्ने क्रम जारी, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ८३८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ३८४ जना र १ हजार ६७० जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५४पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ३०८ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ रहेको छ । जसमध्‍ये २ हजार ७०८ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसन र २२ जना आईसीयूमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८३ हजार १०३ र एन्टिजेन विधिबाट १ लाख ४१ हजार ३२९ जना पुगेको छ ।

 

सम्बन्धित समाचार