शारीरिक सुगठन प्रेमी उदय श्रेष्ठ उत्कृष्ठ जिम प्रशिक्षक अवार्डबाट सम्मानित

जिम प्रशिक्षक तथा अक्सफोर्ड जिमका सञ्चालक उदय श्रेष्ठ ‘उत्कृष्ठ जिम प्रशिक्षक २०७८’ बाट सम्मानित भएका छन् । विसं २०३३ सालबाट बडी बिल्डिङका क्षेत्रमा प्रवेश गरेका श्रेष्ठलाई हिमालय जिम सेन्टरको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बडी बिल्डिङ संघका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णयक रमेशनाथ खनाल र क्लबका अध्यक्ष रामकृष्ण श्रेष्ठले उक्त अवार्डबाट सम्मानित गरेका हुन् ।

सम्मानित श्रेष्ठ विगत चार दशकदेखि अनवरत रूपमा यस क्षेत्रमा रहेर कार्य गरिरहेको अनुभव सुनाउँछन् । उनले २०३८ सालमा आयोजित मिष्टर नेपालमा दोस्रो पदक तथा त्यसपछि भएको मिष्टर काठमाडौं (६५ केजीभन्दा माथिल्लो समूह) मा स्वर्ण पदक जितेका थिए भने २०६६ सालमा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता पाएका थिए । प्रशिक्षक श्रेष्ठले थुप्रै अन्तर्राष्ट्रिय तथा घरेलु खेलहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।



विभिन्न फिल्म, टेलिफिल्म र विज्ञापनहरूमा समेत अभिनय गरेका श्रेष्ठ आफूलाई अभिनयमा भन्दा पनि बडी बिल्डिङका क्षेत्रमा केही योगदान गर्न पाउँदा आनन्द महसुस हुने बताउँछन् । उनी भन्छन्– ‘मेरो अहिलेको लक्ष्य भनेको सबैलाई शारीरिक रूपमा फिट गराएर स्वस्थ समाजको निर्माणमा सघाउ पुर्याउने हो ।’

सम्बन्धित समाचार