स्रोत नखुलेको नगद सहित ३ जना पक्राउ

देशका विभिन्न स्थानबाट स्रोत नखुलेको नगद सहित ३ जना पक्राउ परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका-१२ कुवाँबाट स्रोत नखुलेको नगद २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका-२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार समीलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।



त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको ६ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत घर भएका ५० वर्षीय बुद्धिराम बरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि राजश्वज अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

यस्तै पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत घर भएका ३० वर्षीय बालकृष्ण कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट वीरगंजतर्फ आउँदै गरेको बिआर ०५ एजि ४२५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार