मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । बाँके, बैजनाथ गाउँपालिका-१ आरक्ष टोल बस्ने ५५ वर्षीय बैरीलाल थापा आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै लमजुङ, मध्य नेपाल नगरपालिका-१ समिवोटस्थित रिस्ती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी(पूर्व), बौद्वीकाली गाउँपालिका-१ मझेरीस्थित जंगलमा सोही ठाउँ बस्ने बस्ने ८० वर्षीया धनमाया बिक बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।



यही साउन १ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त जंगलमा सडिगलेको अवस्थामा शव फेला परेको हो । यस्तै लमजुङ, सुन्दरबजार नगरपालिका-१ कुन्छा बस्ने २८ वर्षीया लिला अछामी घरबाट १ किलोमिटर टाढा रहेको खड्केपानीको जंगलमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । मंगलबारदेखि घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी कुन्छाबाट खटिएको प्रहरीले घटनामा शंकास्पद १ जनालाई आवश्यक सोधपुछ एवं अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सप्तरी, खडक नगरपालिका-९ सरता टोलस्थित खेतमा रहेको टहरामा सोही नगरपालिका-९ बज्राहीगुठी बस्ने ६० वर्षीय कान्तालाल चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार