नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ५७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ४ हजार २८२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २६९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६९ हजार ४८८ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ३५६ रहेको छ । जसमध्ये ४ हजार २०३ जना होम आइसोलेसनमा छन् भने १५३ जना संस्थागत आइसोलेसन ३४ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८५ हजार ८०८ र एन्टिजेन विधिबाट १ लाख ४२ हजार ३६३ जना पुगेको छ ।