एनआईसी एशिया बैंकमा अब मेसिनबाटै नगद रकम जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकमा अबदेखि मेसिनबाटै नगद रकम जम्मा गर्न सकिने भएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सेवाको शुभारम्भ गरेको जनाएको छ ।

यस नवीन सेवामार्फत अब ग्राहकहरूले सहज रुपमा एनआईसी एशिया बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने भएका छन् । यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ जनाइएको छ ।



मेसिनबाट हजार र पाँचसय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एकजना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार ५०० गरी दैनिक अधिकतम रू.९ लाख ९९ हजार ५ सयसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ । सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको एनआईसी एशिया बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा OTP प्राप्त गर्नुहुन्छ र उक्त OTPमेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ ।

उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्टमार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड विशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउण्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने झण्झटबाट सेवाग्राहीलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार