नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ६९९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ७७९ जनाको पीसीआर परीक्षण गर्दा २९२ जना र १ हजार ९२० जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २७७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६९ हजार ७६५ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ । जसमध्ये ४ हजार २१८ जना होम आइसोलेसनमा छन् भने १५१ जना संस्थागत आइसोलेसन ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८६ हजार १०० र एन्टिजेन विधिबाट १ लाख ४२ हजार ५०९ जना पुगेको छ ।