समाजवादी केन्द्र गठन प्रक्रिया रोकिएसँगै सबै दल चुनावलाई आफ्नो पक्षमा पार्ने दाउमा

समाजवादी केन्द्र गठन प्रक्रिया रोकिएको छ । संघीय निर्वाचनको मिति तोकिनसकिएको भए पनि निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने तयारी गरिरहेका दलहरु भने निर्वाचको तयारीमा जुटिसकेका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरुले संघीय निर्वाचनमा पनि गठबन्धन गर्ने विषयमा राजी भएका छन् । गठबन्धन नै रहेका वाम दलहरू मिनी गठबन्धनको तयारीमा रहँदै समाजवादी केन्द्र गठन प्रक्रियामा रहेका थिए । तर अन्तिममा आएर त्यो प्रयास असफल भएको छ । वाम दलहरूले तत्कालको लागि समाजवादी केन्द्र गठन गर्ने च्याप्टर क्लोज भएको बताउँदै आएका छन् ।

स्थानीय निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको साथ लिएर पहिलो पार्टी बन्न सफल काँग्रेस पुनः उनीहरूको सहयोगमा बहुमत ल्याउने तयारीमा छ । काँग्रेस पार्टीको केन्द्रीय कमिटी बैठकले नै गठबन्धनलाई निरन्तरता दिएर बहुमत ल्यउने र आगामी पाँच वर्ष सत्तामा रहने निश्चित गर्ने निर्णय लिएपछि कम्युनिष्ट पार्टीहरू झस्किदै समाजवादी केन्द्र गठन गर्ने प्रकियामा लागेका थिए । गठबन्धनमा आबद्ध वाम दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले नै तत्काल समाजवादी केन्द्र गठन नहुने बताएका छन् ।



के भने प्रचण्डले ?
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । उनले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याए ।

‘तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो’, उनले भने ‘त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।’ वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरु आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत दल आन्तरिक छलफलमा जुटेका छन् ।

निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी निर्वाचनसम्म र आवश्यकता रहँदासम्म गठबन्धन कायम रहने बताए । ‘परिवर्तनका एजेण्डा उल्ट्याउने प्रवृत्ति अहिले पनि जारी छ । त्यसकारण पनि गठबन्धन आवश्यक छ’, उनले भने ।

के भने माधवकुमार नेपालले ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन् । उनले गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे। उनले भने, ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन् ।’

अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए । उनले भने, ‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घरप्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।’ उनले नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताएका छन् ।

अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताए । उनले भने, ‘चुनावअघि कसैसँग पार्टी एकता हुँदैन, बरु चुनावी मोर्चा बन्न सक्छ ।’ उनले सबैलाई सम्मान हुने तरिकाले निर्वाचनमा सहभागी भए वर्तमान गठबन्धन पछिसम्म पनि कायम रहने जानकारी दिए ।

बाबुराम र उपेन्द्र अनिच्छुक
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अनिच्छुक देखिएपछि समाजवादी केन्द्र गठन नहुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको पहलमा निर्माण गर्न खोजिएको समाजवादी केन्द्र भट्टराई र यादवले सहमति जनाएका छैनन् ।

बाबुरामले निर्वाचन आयोगमा आँखा चुनाव चिह्नसहित नेपाल समाजवादी पार्टी दर्ता गराएका छन् भने जसपा अध्यक्ष यादवले प्रचण्ड–नेपालले बोलाएको बैठकमा उपस्थित नहुने जनाइसकेका छन् । आगामी संसदीय निर्वाचनमा पनि काँग्रेसले उचित सिट बाँडफाँट नगर्ने आशंका गर्दै प्रचण्ड–नेपालले समाजवादी केन्द्र गठनको पहलकदमीको प्रयास गरेका थिए ।

अफ्ठ्यारोमा एमाले
स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरूद्ध हाबी देखिएको सत्ता गठबन्धन संघीय निर्वाचनमा पनि हाबी हुने देखिएको छ । समाजवादी केन्द्र गठन गर्ने प्रकिया तत्काल नगरेर निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने भएपछि एमाले अप्ठ्यारोमा परेको हो । नेपाली काँग्रेसले नै सत्ता गठबन्धनलाई निरन्तरता दिने बताएपछि नेकपा एमाले दबाबमा परेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पनि लचिलो हुँदै आफै वाम सहकार्यको प्रस्ताव राख्न तयार भएका थिए ।

ओलीले एक सार्वजनिक कार्यक्रममै नेकपालाई एक बनाउन नसकेकोमा गल्ती महसुस भएको भन्दै माफी मागे । कार्यक्रममा वाम एकता वा सहकार्यको लागि आफू तयार रहेको भन्दै ओलीले भनेका थिए ‘विगतका गल्ती रापसाफ गरौं । कोही वामपन्थी हुनुहुन्छ भने आउनुस् । गल्ती भइहाल्यो, ल छोडिदिऊँ । मिलेर अघि बढौं । देशको पक्षमा, राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा कानुनी राज्यको पक्षमा उभिएर सरकार बनाऔं र अघि बढौं ।’

समाजवादी केन्द्र गठनको प्रक्रिया रोकिएपछि स्थानीय तहको निर्वाचनको जस्तै संघीय निर्वाचनमा पनि गठबन्धनको जित नै सुनिश्चित रहेको छ । यद्यपि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि विभिन्न राजनीतिक पार्टीहरुसँग सहकार्य गर्ने प्रयास जारी राखेकोले आसन्न संघीय निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ।

सम्बन्धित समाचार