नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । आज (सोमबार) तारकेश्वर नगरपालिका- २ काभ्रेस्थली पदमसालमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका हुन् ।
मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, उनका श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, छोरा १३ वर्षीय आशिका पाण्डे र छोरी ८ वर्षीय आशिक पाण्डे रहेका छन् । बिहान विद्यालयको गाडी लिन आएको बेला कोही पनि बाहिर ननिस्किएपछि घटनाको रहस्य सार्वजनिक भएको हो ।
उनीहरु नउठेपछि स्थानीयले छिमेकीले प्रहरीले खबर गरेका थिए । त्यसपछि प्रहरी आएर ढोका खोल्दा चारजानको शव विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा संलग्न प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको हो । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाएको छ ।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले घरमुली पाण्डेले परिवारको हत्या गरेर आफूले पनि आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए। ‘बिहान ८ बजे दिनेशकी छोरी विद्यालयमा नआएपछि छिमेकीमार्फत खबर गर्दा घरको झ्यालढोका बन्द रहेकाले प्रहरी र स्थानीय निकायलाई खबर गरेपछि घरमा गएर हेर्दा चारैजना मृत अवस्थामा फेला परेको पायौँ’ उनले भने।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घटनास्थलमा प्रहरी टोली र चिकित्सकको टोली पुगेर अनुसन्धान गरिरहेको बताए। उक्त भवनको सबै झ्याल र ढोकाभित्रबाट चुकुल लगाएको अवस्थामा रहेका उनको भनाइ थियो । पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै मृत भेटिएकाहरुको शव उठाउन अवरोध भएको छ । पोस्टमार्टमका लागि शव उठाउन खाजे अवरोध सिर्जना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनिताको माइती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन दिएको छैन ।
घटनास्थलमा बालाजुस्थित प्रहरी वृत्त, जिल्ला प्रहरी कार्यालय र काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएका प्रहरीका साथै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक डा गोपाल चौधरी र डा आयुष उपाध्यायलगायत टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए। घटनाको बारेमा अनुसन्धान टोलीले कानुनी प्रक्रिया सुरु गरिसकेको जनाइएको छ ।

