नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।
चीनले सैन्य प्रशिक्षणका क्रममा ताइवानको सीमा क्षेत्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । बिहीबार सैन्य प्रशिक्षणका क्रममा चीनले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा कयौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ । ताइवानको रक्षा मन्त्रालयले स्थानीय समयअनुसार १ बजेर ५६ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको हो । चीनले ताइवानको हवाइ र समुद्री मार्गमा नै असर पर्ने गरी अभ्यास सैन्य अभ्यास गरेको हो ।
ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।