नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।

नर्भिक इन्टरनेसनल अस्पतालले तत्कालै टहरा हटाउन नसकिने जनाएको छ । मंगलबार एक पत्रकार सम्मेलन गर्दै नर्भिकले काठमाडौं महानगरको निर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसकिने जनाएको हो ।
थापाथलिस्थित नर्भिक इन्टरनेसनल अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले तत्कालै टहरा हटाउन नसकिने बताएका हुन् । नर्भिक इन्टरनेसनल अस्पताललाई काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो । अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर एक रोपनी आठ आना जग्गामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको खुलासा भएको छ ।
हस्पिटलका अध्यक्ष सिंहले २०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भइ उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेकाले तत्कालै काठमाडौँ महानगरको निर्देशन पालना गर्न नसकिने बताए ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले घर टहरा हटाउन अस्पताललाई निर्देशन दिँदै नहटाए नियमअनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

