नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ भण्डारखालस्थित हुलाक घरको पेटीमा सिन्धुली फिकल गाउँपालिका बस्ने ५५ वर्षीय तेज बहादुर सिजाली सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै प्युठान, गौमुखी गाउँपालिका-४ पुजास्थित नेपाने खोलामा सोही गाउँपालिका-३ रजवारा राम्दीखोला घर भएकी ४३ वर्षीया उजेली परियार सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै नवलपरासी (पूर्व), कावासोती नगरपालिका-५ स्थित खर बारीमा सोही नगरपालिका-१ कोईलापानी बस्ने ३५ वर्षीय गोपाल कुवंर सोमबार मृत अवस्थामा फेला परेका छन् । गत शनिबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यता मोरङ, बेलबारी नगरपालिका-३ स्थित बरफ फ्याक्ट्रीको कम्पाउन्डभित्र हाल वतन नखुलेका करिब ४५ वर्षीय बिसाल राई नाम गरेका व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपलिका-१० न्युरेनिस्थित बंगुरको फर्मभित्र बस्दै ज्याला मजदुरी गरी हिड्ने हाल स्थायी वतन नखुलेका ६५ वर्षीय सूर्य श्रेष्ठ भनेर चिनिने पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै महोत्तरी, लोहारपट्टी नगरपालिका-८ भगवानपुर चौरस्थित सडकमा धनुषा जनकपुर उपमहानगरपालिका-७ माछा बजार बस्ने १८ वर्षीय अर्जुन साह सोमबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबारदेखि घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त सडकमा शव फेला परेको हो ।
यता दाङ, गढवा गाउँपालिका-५ समृद्धि क्रेसरस्थित राप्ती नदीको किनारमा नदीले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

