नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । साउन २६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका निजामती कर्मचारीसहित शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड वृद्धि गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद् बैठकक निर्णय सार्वजनिक गर्दै भने ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने ’निर्णय गरेको बताए ।
सरकारले बजेटमार्फत् सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो। सोहीअनुसार नै नयाँ तलबमान र ग्रेड वृद्धि गरिएको हो ।त्यस्तै बैठकले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको दरबन्दी स्वीकृत गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।